काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले विभागीय टोली एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफको इन्जुरी समयमा आवाश लामिछानेले गोल गर्दै एपीएफलाई १-० गोलको अग्रता दिलाएका हुन् ।
कप्तान नवीन लामाको कर्नरमा आवाशले उत्कृष्ट हेडर गोल गरे ।
त्यसअघि खेलको दोस्रो मिनेटमा एपीएफका आशिष लामाले गोल गरेका थिए । तर, अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।
यस्तै खेलको २१ औं हिमालयनका मनिष थापाको कर्नरमा आशिष गुरुङको हेडर प्रहार पोस्ट बारमा लागेर बाहिरिएको थियो ।
एपीएफ लिगको दशौँ स्थानमा रहेको छ । एपीएफले ८ खेलमा ७ अंक जोडेको छ।
आज हिमालयनलाई हराएर एपीएफ अंक तालिका सुधार्न चाहन्छ । जसका लागि एपीएफले तयारी राम्रो गरेको छ ।
हिमालयन लिगको छैटौं स्थानमा रहेको छ । हिमालयनले ८ खेलमा ११ अंक जोडेको छ । एपीएफलाई हराएर हिमालयन शीर्ष पाँचमा उक्लन चाहन्छ ।