काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाली टोलीले उपाधि जित्ने लक्ष्य बनाएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले च्याम्पियनसिपमा टिमको लक्ष्य उपाधि रहेको बताए ।
'भुटानमा भएको प्रतियोगितामा हामी दोस्रो भयौं । यस पटक पहिलो भएर आउने लक्ष्य छ । जसका लागि टिम पनि राम्रो छ,' प्रशिक्षक श्रेष्ठले भने ।
प्रशिक्षक श्रेष्ठले टिमको हरेक पोजिसनका खेलाडी उत्कृष्ट रहेको समेत बताए ।
'छोटो समयमा टिम बनाएका छौँ । हामीले राम्रो भन्दा राम्रो खेलाडी छनोट गरेर टिम बनाएका छौँ । टिम राम्रो बनेको छ । हरेक पोजिसनमा राम्रो छ,' उनले थपे ।
नेपाली टोलीका कप्तान तथा गोलकिपर अन्जना राना मगरले टिमको लक्ष्य च्याम्पियन बन्ने रहेको बताईन् ।
'टिमको लक्ष्य च्याम्पियन हुने नै छ । त्यहिँ अनुसार टिमको तयारी छ । राम्रो नतिजा ल्याउने आशामा जादैछौँ हामी,' अन्जनाले भनिन्, 'हाम्रो मुख्य लक्ष्य भारत र बंगलादेशलाई जित्नु हो ।'
अन्जनाले उपाधि जित्नका लागि टिमको तयारी राम्रो रहेको बताईन् ।
'टिमको तयारी एकदमै राम्रो छ । राम्रो प्रशिक्षकहरु पाएका छौँ । सबै राम्रो भईरहेको छ । हाम्रो टिमको सबै राम्रो छ,' उनले भनिन् ।

नेपाली टिम मंगलबार त्यसतर्फ प्रस्थान गर्ने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार ढाका जाने टोलीलाई बिदाइ गरेको छ ।
च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् । जसमा ६ जना राष्ट्रिय टोलीमा रहिसकेका खेलाडी छन् ।
च्याम्पियनसिपमा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ ।
नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्नेछ ।
राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको चौथो खेल नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने तालिका रहेको छ ।
राउन्ड रोविन खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल डिसेम्बर २२ मा हुनेछ ।
नेपाली टिम :
अन्जना राना मगर, सावित्री किशन, अंकिता राई, सलोनी राना मगर, सबिना चौधरी,मन्जु कुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ,रोजिना श्रेष्ठ, रजनी थोकर, विमला बिक, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दिपा शाही, कुसुम खतिवडा, सबिता राना मगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की, मेनुका कुमारी आले मगर