अपेक्षा भन्दा राम्रो प्रदर्शन भयो : राङनिक

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिकले क्रिस्टल प्यालेसविरुद्ध टिमले अपेक्षा भन्दा राम्रो प्रदर्शन गरेको बताएका छन् ।
आइतबार राति भएको खेलमा युनाईटेडले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको थियो । युनाईटेडलाई जित दिलाउन फ्रेडले निर्णायक गोल गरे ।
अन्तरिम प्रशिक्षक राल्फ राङनिकको पहिलो खेलमै युनाईटेडले जित निकालेको हो । जितपछि उनी खुशी देखिए ।
'टिमले गरेको प्रदर्शनबाट म धेरै खुसी छु । विशेष गरी पहिलो हाफमा असाधारण थियो,' राङनिकले खेलपछि भने,'हामीले जसरी रक्षा गर्यौं । खेल हाम्रो नियन्त्रणमा थियो।'
ओल गन सोल्सारलाई बर्खास्त गर्दै युनाईटेडले यस सिजनको अन्तिम सम्मका लागि राङनिकलाई अन्तरिम प्रशिक्षक चयन गरेको हो ।
'क्लिन सिट सधै महत्वपूर्ण हुन्छ । हामीले जुन कुरामा सुधार गर्नुपर्छ । हामीले क्लिन सिटलाई कायम राख्नु पर्छ । म ट्रेनिङबाट निकै प्रभावित छु । हामीले अपेक्षा गरेको भन्दा राम्रो गर्यौं,' राङनिकले थपे ।