काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा च्यासल र एनआरटीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा च्यासलका लागि रुमेश बर्तौलाले गोल गरे । एनआरटीका दिपेश घलेले बराबरी गोल फर्काए ।
एनआरटीका दर्शन गुरुङले २१ औं मिनेटमा गोलको अवसर सदुपयोग गर्न सकेनन् । अशोक थापाको क्रसमा सिक्स यार्ड भित्र रहेका दर्शनको वान टच प्रहार बाहिरिएको थियो ।
दर्शनको पासमा ३१ औं मिनेटमा एनआरटीका कृतिस रत्न छुन्जुको प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले उत्कृष्ट बचाउ गरे ।
तर, खेलको ४३ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई १-० को अग्रता दिलाए । कमल श्रेष्ठको कर्नरमा एनआरटीका मेसौकेले हेडरमार्फत क्लियर गरेको बलमा पेनाल्टी एरिया भित्र रहेका रुमेशले भली गोल गरे ।
खेलको ७३ औं मिनेटमा एनआरटीका मेसौकेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
७४ औं मिनेटमा शिब गुरुङको लामो पासमा स्टेफेन समिरको प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले बचाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा एनआरटीका दिपेश दृश्यमा आए । परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका दिपेशले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा फर्काए ।
च्यासलका राजिब लोप्चनले क्लियर गरेको बल नियन्त्रणमा लिदै दिपेशले उत्कृष्ट गोल गरे । अशोक थापाको स्थानमा मैदान प्रवेश गरेको एक मिनेटमै उनले गोल गरेका हुन् ।
त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै च्यासलले ३ खेलमा ४ अंक जोडेको छ ।
एनआरटीले ३ खेलमा २ अंक जोडेको छ ।
खेलमा च्यासलका बिराज महर्जन म्यान अफ दि म्याच चुनिए ।
इमर्जिङ प्लेयरको अवार्ड च्यासलकै रुमेश बर्तौलाले जिते ।