काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले शनिबार संकटा क्लबसँग बराबरी खेलको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङले संकटासँग २-२ गोलको बराबरी खेलेको हो ।
संकटासँग बराबरीमा रोकिएपछि मनाङका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ खुशी देखिएनन् ।
'आज अलिकति दबाब बढ्यो । हाम्रो पेस जस्तो हुनु पर्ने हो त्यस्तो भएन। बल पोजिसन पनि भएन,' उनले भने, 'डिफेन्डिङ थर्डमा गल्ति गर्दा गोल खान पुग्यौं । तर, अन्तिममा भाग्यले गोल हुन पुग्यो ।'
प्रशिक्षक तामाङले खेलाडीमा तालमेलको अभाव देखिएको बताए।
'हामीसँग अनुभवी डिफेन्डर छन तर कोडिनेसनमा कमी भयो । हामीसँग ९० मिनेटको समय छ । हतार गर्नु हुन्न । तर, आज निकै हतारमा खेल्यो । खेलाडीमा एक प्रकारको दम्भ हुन सक्छ कि हामी राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलेका हौ भन्ने।'
मनाङले दुई पटकको अग्रता उल्टाएर संकटासँग बराबरी खेलेको हो ।
यस बराबरीसँगै मनाङले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।
मनाङ ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।