काठमाडौं । च्यासल युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकाल्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो जित निकाल्ने क्रममा च्यासलले विभागीय टिम एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गर्यो ।
च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले निर्णायक गोल गरे ।
जितपछि च्यासलका मुख्य प्रशिक्षक बाल गोपाल शाहुखल खुशी देखिए ।
शाहुखलले जितका लागि खेलेको र सफल भएको बताए ।
'जित्नका लागि खेलेका थियौं । जित्यौं । जितले खेलाडीको मोरल हाइ भएको छ,' उनले भने, 'टिम अर्गनाइज देखियो आज । अझै टिम कम्पोज हुन् बाँकी छ तर टिमको प्रदर्शनबाट खुशी छु ।'
एपीएफका मुख्य प्रशिक्षक कुमार थापाले टिमले सोचे भन्दा राम्रो खेलको बताए । तर, यो हारले टिमलाई गार्हो भएको उनले बताए ।
'सोचे भन्दा राम्रो भयो । तर, नतिजा अनुसार भएन । अब गार्हो छ । हाम्रो मौकामा गोल भएन,' उनले भने, 'मैले दबाब महसुस गरेको छैन तर दबाब छ । अहिले ६ हैन १२ अंक गुमाए जस्तो भएको छ । त्यसरी सोचेको छु ।'
एपीएफको यो लगातार दोस्रो हार हो ।