काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेका छन् ।
अष्ट्रेलियन प्रशिक्षक फिलिप्सले फिफाको प्राविधिक कोर्षको व्यस्तताको कारण देखाएर मुख्य प्रशिक्षक छाडेका हुन् ।
फिलिप्सले छाडेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले चेतन घिमिरेलाई टिम हेर्ने जिम्मेवारी दिएको छ ।
एन्फाले भारतमा आयोजना हुने 'फोर नेसन्स कप' सम्मका लागि चेतनलाई जिम्मेवारी दिएको हो । चेतन यस अघि सहायक प्रशिक्षक रहेका थिए ।
'ग्यारी विभिन्न कोर्षमा व्यस्त हुनुहुन्छ । जसको कारण ऊहाँले टिम नहेर्ने जानकारी दिनु भएको ,' एन्फाको महिला कमिटिका प्रमुख हरि खड्काले भने, 'फोर नेसन्ससम्मको लागि चेतनलाई जिम्मेवारी दिएका छौँ ।'
प्राविधिक निर्देशकको रुपमा नेपाल आएका ग्यारीलाई २०७७ को फागुनमा मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनको सम्झौता यहिँ डिसेम्बरमा सकिदैछ ।
महिला कमिटिका प्रमुख खड्काले महिला टिमका लागि विदेशी महिला प्रशिक्षक ल्याउने तयारी भईरहेको समेत बताए ।
फोर नेसन्स कपका लागि नेपालले मंगलबारबाट तयारी सुरु गरेको थियो । एन्फाले प्रशिक्षणमा २६ खेलाडीलाई बोलाएको छ ।
फोर नेसन्स कप आगामी डिसेम्बर ९ देखि २१ तारिखसम्म हुनेछ ।