काठमाडौं । संकटा फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शुक्रबार फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर संकटाले जित निकालेको हो ।
जारी लिगमा संकटाको यो पहिलो जित हो । त्यतिमात्र हैन संकटाका मुख्य प्रशिक्षक बिष्णु गुरुङको पनि प्रशिक्षकको रुपमा 'ए' लिगमा यो करियरको पहिलो जित हो ।
पहिलो पटक 'ए' डिभिजन क्लब सम्हालेका बिष्णु करियरकै पहिलो जित निकाल्दा खुशी देखिए ।
'धेरै कठिन थियो । यो मेरो 'ए' डिभिजनमा जीवनको पहिलो जित खेल हो । म धेरै खुशी छु र खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु ,' खेलपछि बिष्णुले भने ।
प्रशिक्षक बिष्णुले योजना अनुसार खेल्दा जित निस्किएको बताए ।
'जुन योजना बनाएको थियौं त्यसले काम गर्यो । पहिलो हाफमा हामीले नसोचेको गोल खायौं तर त्यसपछि पुनरागमन गर्यौं । हामीले योजना बनाएर काम गर्यौं,' उनले थपे, 'हामी आज तीन अंकको लागि आएका थियौं । किनकि हामीलाई थाहा थियो हामीसँग धेरै क्वालिटीका खेलाडी छ ।'

फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले स्ट्राइकर जमोउल एन्थोनी घाइते भएपछि खेल बिग्रिएको बताए ।
'स्ट्राइकर जमोउललाई सब्सिच्य्ट गर्नु परेपछि हामी हार्न पुग्यौं । उसको कमि महसुस भयो,' त्यसपछि संकटा चढेर खेल्यो । स्ट्राइकरमा केही कमी छ त्यो सुधार्ने छु,' मिश्रले भने, 'डिफेन्स कमजोर छ । टिममा सबै नयाँ खेलाडी छन् । कप्तान प्रकाश बुढाथोकी अनुभवी खेलाडी हो र उसकै भरोसा छ ।'
प्रशिक्षक मृगेन्द्र मिश्रले आगामी खेलमा सुधार गर्ने बताए ।
'अझै खेल बाँकी छन् । आउने खेलमा गल्ती सुधार्ने छौँ,' उनले थपे ।