काठमाडौं । संकटा फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर संकटाले जित निकालेको हो ।
संकटालाई जित दिलाउन निरज बस्नेत र फोडे फोफानाले एक एक गोल गरे ।
फ्रेन्ड्सका प्रकाश बुढाथोकीले एक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको १२ औं मिनेटमा संकटाका जोर्डन जुनियरले गोलको सुनौलो मौका खेर फाले । सुवास गुरुङको पासमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका उनले बाहिर प्रहार गरे ।
त्यसअघि कप्तान सरोज दाहालको कडा प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले बचाए ।
खेलको १४ औं मिनेटमा फ्रेन्ड्सका नाथनिल जुडे गार्सियाको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले सहजै बचाए ।
१९ औं मिनेटमा संकटाका जोर्डनले सिक्स यार्ड बक्सबाट प्रहार गरेको बल फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले बचाए ।
खेलको २० औं मिनेटमा फ्रेन्ड्सका प्रिजेन तामाङले सिक्स यार्ड बक्सबाट बाहिर प्रहार गरे ।
२७ औं मिनेटमा फ्रेन्ड्सका जमल एन्थोनीको ओभर हेड किक संकटाका गोलकिपर राजाबाबुले सहजै बचाए ।
खेलको ३० औं मिनेटमा संकटका सुवास गुरुङले सुनौलो मौका गुमाए । जय गुरुङले उपलब्ध गराएको बलमा अनमार्क रहेका उनको प्रहार आकाशिएको थियो ।
खेलको ४२ औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई १-० को अग्रता दिलाए । पेनाल्टी बक्स भन्दा ठिक बाहिरबाट उनले उत्कृष्ट गोल गरे ।
फ्रेन्ड्सले २ सय २२ मिनेटपछि गोल गरेको हो । यस अघि २०७६ को लिगमा फ्रेन्ड्सले एपीएफविरुद्ध गोल गरेको थियो ।
४४ औं मिनेटमा निरज बस्नेतको लामो प्रहार फ्रेन्ड्सका गोलकिपर राहुलले बचाए ।
खेलको ५७ औं मिनेटमा निरज बस्नेतले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा फर्काए । सुवास गुरुङको कर्नरमा अनमार्क रहेका उनले हेड मार्फत गोल गरे ।
खेलको ७० औं मिनेटमा संकटाका फोडे फोफानाको कडा प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्रले पन्च गर्दै बल बाहिर फाले ।
७२ औं मिनटमा सुशील लामाको पासमा फ्रेन्ड्सका कप्तान प्रकाशले सिक्स यार्ड बक्सबाट प्रहार गरेको बल संकटाका गोलकिपर राजाबाबुले उत्कृष्ट बचाऊ गरे ।
त्यसपछि खेलको ८६ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै संकटालाई २-१ को जित दिलाए । उनले हाफ भली गोल गरे ।
खेलको म्यान अफ दि म्याच संकटाका निरज बस्नेत चुनिए ।
जितसँगै संकटाले २ खेलमा ४ अंक जोडेको छ। संकटा शीर्ष स्थानमा उक्लिएको छ ।
संकटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो ।
फ्रेन्ड्सको यो पहिलो हार हो । पहिलो खेलमा फ्रेन्ड्सले गोलरहित बराबरी खेलेको थियो।
दशौँ स्थानको फ्रेन्ड्सले १ अंक जोडेको छ।