काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणको खेलहरु आज शुक्रबारबाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र थ्री स्टारबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आज सातदोबाटो पहिलो जितको खोजीमा हुनेछ । सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले थ्री स्टारविरुद्ध तीन अंकको लागि खेल्ने बताए ।
'हामी तीन अंककै लागि खेल्छौं । हामी नयाँ टिम हौँ । राम्रो उपस्थिति जनाउनका लागि मेहेनत गरिरहेका छौँ । १३ औं खेलसम्म जित्नकै लागि खेल्छौं । तर, सोचेजस्तो हुँदैन,' प्रशिक्षक केसीले थ्री स्टारसँगको खेल अघि भने ।
पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्सविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।
यता, थ्री स्टार भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । शीर्ष स्थानको थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो ।
थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो खेलको गल्ति नदोहोर्याउने बताए ।
'पहिलो खेलमा जुन गल्तिहरु भएको थियो । सेट पिसमा मात्र गोल भएको थियो । तर, हामीले टाइम ५-६ दिन पायौं । तयारी राम्रो छ । मलाई लाग्छ खेलाडीले राम्रो गर्छ,' उनले भने, ' सातदोबाटो राम्रो टिम छ । हेरौं के हुन्छ ।'
लिग अन्तर्गत नै दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र फ्रेन्ड्सबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
संकटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो । फ्रेन्ड्सविरुद्ध मैदान उत्रदा संकटा पहिलो जितको खोजीमा हुनेछ।
फ्रेन्ड्स पनि पहिलो जितको लक्ष्यसहित मैदान उत्रनेछ । पहिलो खेलमा फ्रेन्ड्सले गोलरहित बराबरी खेलेको थियो ।