काठमाडौं । सहिद 'ए' डिभिजन क्लब सातदोबाटो युथ क्लबका मिडफिल्डर सिफामन्ड्ला एसेलो माथेन्ज्वाले लिगको बाँकी खेल गुमाउने भएका छन्।
चोटको कारण मिडफिल्डर माथेन्ज्वाले लिग गुमाउने भएका हुन् । क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले उनले लिग गुमाउने पुष्टि गरे ।
'पहिलो पटक खेल्न नेपाल आएको हो । तीन महिना मेहेनत गरेको थियो । उसले आफ्नो खेल देखाउन पाएन,' प्रशिक्षक केसीले भने, 'उनको निकै सिरियस इन्जुरी छ । जहाँसम्म लाग्छ शल्यक्रिया गरेर उनी फर्कनेछ । त्यसले हामीलाई निकै घाटा भएको छ । टिम र खेलाडीलाई समेत घाटा भएको छ ।'
दक्षिण अफ्रीकाका मिडफिल्डर पहिलो खेलमा घाइते भएका थिए ।
फ्रेन्ड्स क्लबविरुद्ध माथेन्ज्वा खेलको १९ औं मिनेटमा अनिल महर्जनको खराब ट्याकलको शिकार बनेका थिए ।
चोट बोकेपछि माथेन्ज्वा खेलको २४ औं मिनेटमा मैदान बाहिरिएका थिए । उनको स्थानमा प्रसान्त अवस्थी मैदान प्रवेश गरेका थिए ।