एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) पछिल्ला महिना जिनेदिन जिदानसँग सम्पर्कमा रहेको छ ।
मौरिसियो पोचिटिनोको सम्भावित म्यानचेस्टर युनाईटेडको स्थानान्तरणलाई ध्यानमा राख्दै पीएसजीले जिदानसँग सम्पर्क बढाएको हो ।
पोचिटिनो म्यान यूको प्राथमिकतामा छन् । उनले ओले गुनर सोल्सायरलाई प्रतिस्थापन गर्ने ठानिएको छ । प्रिमियर लिगमा खराब नतिजाका कारण आईतबार म्यान यूले सोल्सायरलाई बर्खास्त गरेको थियो ।
युनाईटेडले बाँकी सिजनका लागि अन्तरिम प्रशिक्षकलाई जिम्मेवारी दिएको छ ।
पीएसजी यतिबेला जिदान र एन्टोनियो कोन्टेसँग सम्पर्कमा छ । कोन्टे पछिल्लो समय टोटेनहममा आबद्ध छन् ।
रियल मड्रिडका पूर्व प्रशिक्षक जिदानले आफु म्यान यूका लागि इच्छुक नभएको बताएका थिए । उनी पीएसजी जाने सम्भावना छ । त्यो अवस्थामा पोचिटिनो म्यान यू जान सक्नेछन् ।
यस सिजनको समाप्तिसँगै दुवै सम्भावनाले मूर्त रुप पाउने ठानिएको छ ।
पोचिटिनो पीएसजीमा सेटल भैसकेका छैनन् । उनी अहिलेपनि फ्रान्समा होटेल रुममा बसिरहेका छन् । उनको परिवार अझै लण्डनमै रहेको छ ।