काठमाडौं । जर्मन क्लब वायर्न म्युनिखका प्रशिक्षक जुलियन नागेल्सम्यानले च्याम्पियन्स लिग अन्तर्गत डाइनामो केयिभविरुद्धको खेल अघि आफूलाई कठिन अवस्थामा पाएका छन् ।
मंगलबार राती हुने खेल अघि म्युनिखका आठ खेलाडी टोलीमा नरहने सुनिश्चित भइसकेपछि प्रशिक्षक नागेल्सम्यानमाथि दवाव बढ्दो छ ।
कोभिड–१९ का कारण आठ खेलाडी टोलीबाट अनुपस्थित रहने भएका हुन् ।
निकलास सुले र जोसिप स्टानिसिक कोभिड–१९ बाट संक्रमित हुदा खोप नलगाएका अन्य पाँच खेलाडी भने क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।
युक्रेनको केयिभविरुद्धको खेलका लागि म्युनिखले केवल १५ खेलाडीसहित यात्रा गर्ने बताएको छ ।
म्युनिखका प्रशिक्षक नागेल्सम्यानले आफ्ना खेलाडीहरुले खोप लगाउन नमान्दा आफूमाथि दवाव बढेको प्रतिक्रिया दिएका थिए ।
यता खोप नलगाएका तथा क्वारेन्टाइन बस्नु पर्नेभएपछि क्लबका मालिकले खेलाडीहरुको पारिश्रमिक घटाउने बताएपछि प्रशिक्षकले सो विषयलाई मिलाउने प्रयास गरेका छन् ।
जोसुआ किम्मिच, जमाल मुसियाला, सर्जे नाब्री, इरिक म्याक्सिम तथा माइकल कुसान्सेलाई सात दिनको क्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
खेलाडीहरु भने पारिश्रमिक घटाउने विषयलाई लिएर आश्चर्यचकित भएका छन् ।
समाचारमा जनाए अनुसार खेलाडीहरु त्यसविरुद्ध कानूनी प्रक्रियामा जाने बताइएको छ ।
प्रशिक्षक नागेल्सम्यानलाई उल्लेख गर्दै जनाइए अनुसार किम्मिचको प्रत्येक हप्ता २ लाख ८४ हजार युरो पारिश्रमिक कम हुनेछ ।
तर प्रशिक्षकले यस समाचारले टिमलाई प्रभाव नपार्ने बताएका छन् ।
म्युनिख च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गरिसकेको छ ।