काठमाडौं । प्रशिक्षकले आफ्ना खेलाडीलाई उत्साहित बनाउन पनि गजब गजबको उपाय अपनाउने गर्छन् ।
यस्तै एउटा काम जोसे मोउरिन्होले गरेका छन् र त्यसको प्रतिफल पनि मीठै रह्यो । एएस रोमाले इटालीको सिरी ए मा हालै जेनोआविरुद्ध प्राप्त २–० जितमा दुवै गोल किशोर खेलाडी फेलिक्स आफेना गायनले गरे ।
भएछ के भन्दा खेल सुरु हुन अगाडि मोउरिन्होले यी १८ वर्षीय खेलाडीलाई भनेका रहेछन्, यो खेलमा गोल गर्ने हो भने महँगो जुत्ता उपहार पाउने छौ।

फेलिक्सले ७५ औं मिनेटमा पहिलो गोल गरेपछि दोस्रो गोल ८२ औं मिनेटमा थपे । दोस्रो गोलपछि उनी प्रशिक्षकसम्म आइपुगे र खुसी मनाए ।
त्यस क्रममा उनले गोल गरे, आफूलाई जुत्ता उपहार दिने वचन पनि सम्झाए ।
मोउरिन्हो भन्छन्, ‘मैले उनलाई दिएको वचन बिर्सेको थिइन, त्यसैले आठ सय युरोको जुत्ता किनिदिए । फेलिक्स निकै राम्रा उदयमान खेलाडी हुन् । शारीरिक रूपमा पनि उनी निकै बलिया छन् । सबैभन्दा मुख्य कुरा, उनी भलाद्मी छन् ।’
नयाँ र महँगो जुत्ता पाएकोमा खेलाडी आफै पनि खुबै दंग छन् र भनेका छन्, ‘सबैलाई धेरै धेरै धन्यवाद ।’