एजेन्सी । मौरिसियो पोचिटिनो म्यानचेस्टर युनाईटेडलाई सम्हाल्न इच्छुक देखिएका छन् ।
स्काई स्पोर्टसका अनुसार पोचिटिनोले म्यान यू सम्हाल्ने विषयमा आफु इच्छुक रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई बताईसकेका छन् ।
पोचिटिनो भर्खरै बर्खास्तमा परेका म्यान यूका ओले गुनर सोल्सायरलाई प्रतिस्थापन गर्न ईच्छुक छन् ।
पोचिटिनो यतिबेला बुधबार हुने च्याम्पियन्स लिगको खेलमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा केन्द्रित छन् ।
गत जनवरीमा पीएसजी सम्हालेका पोचिटिनोले फ्रान्समा १८ महिना बिताईसकेका छन् । लिग वान क्लबसँग उनको सम्झौता सन् २०२३ सम्म रहेको छ ।
स्काई स्पोर्टसका अनुसार पोचिटिनो अवसर दिएको खण्डमा म्यान यू सम्हाल्नका लागि इच्छुक छन् ।
युनाईटेडले गत आईतबार सोल्सायरलाई बर्खास्त गरेको थियो । वाटफोर्डसँग ४–१ ले पराजित भएपछि युनाईटेडले प्रशिक्षकलाई बर्खास्त गरेको हो ।
डेली मेलका अनुसार पोचिटिनो पीएसजीमा खुसी छैनन् । उनी परिवार सहित पेरिसको होटेलमा बसिरहेका छन् । टोटेनहमबाट बर्खास्त भएपछि उनी परिवार सहित पेरिस आएका थिए ।
अर्जेन्टिनी प्रशिक्षक पोचिटिनो पीएसजीको ठुलो टिमसँग असन्तुष्ट छन् । पोचिटिनोलाई पीएसजीमा नेयमार, केलियन एम्बाप्पे र लियोनल मेस्सी जस्ता ठुला खेलाडीको 'इगो'लाई व्यवस्थापन गर्न गाह्रो भईरहेको छ ।
सोही कारण पोचिटिनाको भावी गन्तव्य म्यान यूनाईटेड हुने आँकलन गरिएको छ ।