विभागीय डर्बीमा आर्मी र पुलिसको बराबरी
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको विभागीय डर्बी १-१ गोलको बराबरीमा सकिएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती एक गोलको अग्रता उल्टाएर आर्मीले पुलिससँग बराबरी खेलेको हो ।
पुलिसका सन्तोष हेमरामले सुरुआती गोल गरे । आर्मीका विवेक बस्नेतले बराबरी गोल फर्काए ।
तर, दुबै टोलीले दोस्रो हाफमा मात्र गोल निकालेको थियो ।
पहिलो हाफमा दुबै टोलीले गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
तेस्रो मिनेटमा आर्मीका सन्तोष तामाङको फ्रिकिक पुलिसका गोलकिपर शत्रुधन चौधरीले पन्च गर्दै गोल हुनबाट रोके ।
खेलको १० औं पेनाल्टी क्षेत्र बाहिरबाट आर्मीका जर्ज प्रिन्स कार्कीको सशक्त प्रहार पोस्टको केहि माथिबाट बाहिरियो ।
१४ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीको पासमा कप्तान भरत खवासको 'क्लोज हेडर' पोस्ट नजिकैबाट बाहिरियो ।
खेलको १८ औं मिनेटमा २५ यार्ड टाढाबाट पुलिसका सुमन लामाको प्रहार पोस्टको माथिबाट गएको थियो ।
४३ औं मिनेटमा ३० यार्ड टाढाबाट आर्मीका सेसेहाङ आङ्देम्बेको प्रहार पुलिसका गोलकिपर शत्रुधनले आफ्नो पन्जामा पारे ।
खेलको ५१ औं मिनेटमा सन्तोष हेमरामले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तेज तामाङको फ्रिकिकमा उनले हेडरमार्फत गोल गरे ।
तर, खेलको ६१ औं मिनेटमा परिवर्तित खेलाडी विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याए । पुलिसका डिफेन्डर बुद्ध तामाङले क्लियर गर्न नसकेको बलमा विवेकले पेनाल्टी बक्सको ठिक बाहिरबाट सुन्दर गोल गरे ।
खेलको ८७ औं मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले गोल गरेका थिए । तर, उनी अफसाइड रहेपछि उनको गोलले मान्यता पाएन ।
त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै आर्मी र पुलिसले १-१ अंक पाएका छन् ।
खेलमा आर्मीका सेसेहाङ म्यान अफ दि म्याच चुनिए ।