काठमाडौं । म्यानचेस्टर युनाइटेड समर्थकका लागि खराब समाचार ।
म्यानचेस्टर युनाइटेडले प्रशिक्षक पदका लागि जिनेदिन जिदानसँग कुराकानी त अगाडि बढाएको छ, तर उताबाट कुनै राम्रो संकेत आएको छैन ।
बेलायती मिडियाले दाबी गरेको छ, जिदानले भनेका छन्, म्यानचेस्टरमा कुनै रूचि छैन ।
म्यानचेस्टरले भर्खर आफ्ना व्यवस्थापक ओल गन सोल्सारलाई बर्खास्त गरेको थियो । वाटफोर्डविरुद्धको खेलमा ४–१ ले पराजित भएपछि सोल्सारले आफ्नो जागिर गुमाए ।
यता जिदान भने मे महिनायता खालि छन् । त्यही महिना रियल म्याड्रिडमा उनको दोस्रो कार्यकाल टुंगेको थियो । रियलका लागि जिदानले लगातार तीन युरोपेली च्याम्पियन्स लिग जितेका थिए ।
यत्तिको प्रशिक्षकमा ठूला क्लबको नजर पर्नु स्वभाविक नै हो, तर कम्तीमा जिदानको प्राथमिकतामा म्यानचेस्टर पर्दैन ।
किन त ? यसको पनि केही न केही कारण हो ।
फेरि तिनै बेलायती मिडियाका अनुसार जिदानसामु अहिले दुई राम्रा विकल्प अगाडि आइरहेका छन् । पहिलो पेरिस सेन्ट जर्मेन (पीएसजी) सम्हाल्ने, अर्को फ्रान्सेली राष्ट्रिय टिम नै हेर्ने ।
जिदानका लागि यी दुई विकल्प नै ठीक लागेको छ, म्यानचेस्टर होइन।
–बीबीसीको सहयोगमा ।