काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान पराजित भएको छ ।
शनिबार राति भएको खेलमा मिलान फियोरेन्टिनासँग ४-३ गोल अन्तरले पराजित भएको हो ।
खेलको १५ औं मिनेटमा अल्फ्रेड डुनकानले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा रिकार्डोले गोल गर्दै फियोरेन्टिनाको अग्रता २-० को बनाए ।
खेलको ६० औं मिनेटमा डुसानले गोल गरेपछि फियोरेन्टिना ३-० ले अघि रह्यो ।

६२ औं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मिलानलाई ३-१ को स्थितिमा ल्याए ।
खेलको ६७ औं मिनेटमा इब्राहिमोविचले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३-२ को स्थितिमा पुग्यो ।
८५ औं मिनेटमा डुसानले व्यक्तिगत दोस्रो गोल गर्दै फियोरेन्टिनालाई ४-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा फियोरेन्टिनाका लोरेन्जो भेनुटीले आत्मघाती गोल गरेपनि मिलान ४-३ ले पराजित भयो ।
यस हारसँगै मिलानले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
मिलान १३ खेलमा ३२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
फियोरेन्टिना २१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।