काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा एन्टोनियो रुडिगर, एनगालो कान्टे र क्रिस्टियन पुलिसिचले एक एक गोल गरे ।
लेस्टरको मैदानमा खेलको १४ औं मिनेटमा रुडिगरले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए ।
जितसँगै चेल्सीले १२ खेलमा २९ अंक जोडेको छ ।
लिग लिडर चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि ६ अंकको अग्रता बनाएको छ ।
लेस्टर १५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
