काठमाडौं । विश्व फुटबल सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर तथा युईएफएका पूर्व अध्यक्ष मिचेल प्लाटिनीलाई स्विजरल्यान्डका अभियोजनकर्ताले ठगीसहित अन्य आरोप लगाएका छन् ।
विवादित १ दशलमब ६ मिलियन पाउण्ड भुक्तानीमाथि ६ वर्षसम्म गरिएको अनुसन्धानपछि ब्लाटर तथा युरोपियन फुटबलको सर्वोच्च निकायका पूर्व अध्यक्ष प्लाटिनीमाथि ठगी तथा अन्य अपराधको आरोप लगाइएको हो ।
८५ वर्षीय ब्लाटर र ६६ वर्षीय प्लाटिनीले अब बेलिनजोनामा रहेको संघीय आपराधिक अदालतमा केही महिनाभित्रै मुद्दाको सामना गर्नेछन् ।
स्वीस संघीय अभियोजनकर्ताहरुले सो भुक्तानीका कारण फिफाको सम्पत्तिमाथि क्षति पुगेको तथा प्लाटिनीलाई गैरकानूनीरुपमा धनी बनाएको विज्ञप्तीमार्फत जनाएका छन् ।
सो मुद्दा सन् २०१५ को सेप्टेम्बरमा सुरु भएपछि ब्लाटरलाई बर्खास्त गरिएको थियो ।
स्वीजल्यान्डमा कुनै पनि मुद्दाको निक्र्यौलका लागि वर्षौ लाग्ने गरेको छ ।
ब्लाटर पहिलो पटक सन् १९९८ देखि २००२ सम्म फिफाको अध्यक्ष हुँदा आफूले अध्यक्षको सल्लाहकारको रुपमा काम गरेको भन्दै पुरानो मितिको अतिरिक्त भुक्तानी पाउनका लागि प्लाटिनीले सन् २०११ मा फिफालाई पत्र लेखेको कुरामा यो मुद्दा केन्द्रित छ ।
ब्लाटरले फिफालाई सो भुक्तानी एक हप्तामै गर्न अधिकार प्रदान गरेको थियो ।