काठमाडौं । झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार विजय युथ हेटौडालाई ५-१ गोल अन्तरले हराउँदै झापाले सुखद सुरुआत गरेको हो ।
झापाको जितमा नरेन्द्र मणी लिम्बुले ४ गोल गरे । श्याम कुमार गोलेको नाममा एक गोल रह्यो ।
हेटौडाका कृष्ण शाक्यले एक गोल फर्काए ।
यस जितसँगै समूह ई को झापाले ३ अंक जोडेको छ ।
हेटौडाको यो पहिलो हार हो । पहिलो खेलमा हेटौडाले काभ्रे भेट्रान्सलाई हराएको थियो ।
हेटौडाले २ खेलमा ३ अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत नै साइनिङ सन फुटबल एकेडेमीले ललितपुर वार्ड नम्बर १४ लाई २-० ले हराएको छ ।
साइनिङको जितमा उमेश लामा र राजु दंगालले एक एक गोल गरे ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
२१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।
त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।