काठमाडौं । कन्काई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार महालक्ष्मी नगरपालिकालाई १९-० गोल अन्तरले हराउँदै कन्काईले दोस्रो जित निकालेको हो ।
कन्काईको जितमा कुशुम खतिवडाले ८ गोल गरिन् ।
दिपा शाहीले ५ तथा सिमरन राई र ममता राउतले २/२ गोल गरिन् ।
लक्ष्मी श्रेष्ठ र ईमा राईले १/१ गोल गरिन् ।
यस अघि पहिलो खेलमा कन्काईले गोदावरी नगरपालिकालाई १२-० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।