फुटबल खेल्नकै लागि नेपाल आएको हुँ : विकास

काठमाडौं । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लियाले फुटबल खेल्नकै लागि नेपाल आएको बताएका छन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलका लागि च्यासल युथ क्लबमा अनुबन्धित भएपछि बोल्दै विकासले आफु फुटबल खेल्नका लागि नेपाल आएको बताएका हुन् ।
'म खासगरी फुटबल खेल्नकै लागि यहाँ आएको हो । तर, मेरो व्यक्तिगत एउटा उदेश्यपनि छ जुन मैले अहिले सार्वजनिक गर्न सक्दिन । उचित समय हेर्नेछु र सबै कुरा भन्नेछु,' च्यासलमा अनुबन्ध भएपछि उनले भने ।
युवा स्ट्राइकर विकासले शुक्रबार 'ए' डिभिजन क्लब च्यासलसँग सम्झौता गरेका हुन्। उनले एक वर्षका लागि च्यासलसँग सम्झौता गरेका हुन् ।
१८ वर्षीय विकासले नेपाल आउन पाउदा खुशी समेत व्यक्त गरे । उनले नेपालको लागि केहि गर्नु पर्ने भन्ने लागेको समेत बताए ।
'यस अवसरको लागि म धेरै खुशी छु । म नेपालमा बसेर के गर्छु भनेर निर्णय लिइसकेको छैन । म बल्ल १३ वर्षपछि नेपाल आउदैछु, यहाको वातावरण हेरेर म विचार गर्नेछु,' उनले भने, 'इटाली मलाई मनपर्छ, त्यहाको संस्कृति, खाना, वातावरण र प्रकृति निकै मन पर्छ तर पनि मेरो मनमा नेपालको बारेमा केही गर्नुपर्छ भन्ने छ । म १३ वर्ष अघि नेपाललाई मुटुमा लिएर गएको थिए र मेरो के सपना थिए, म कसरी नेपाल जान सक्नु भन्ने सम्झन्थे । तर यो सपना १३ वर्षपछि पूरा भएको छ र आउन पाउदा खुसी छु ।'
विकासले नेपाली फुटबल आफुलाई राम्रो लागेको समेत बताए ।
'पहिले मलाई नेपाली फुटबल लिग कहा हेर्ने र के हेर्ने भन्ने ठ्याकै थाहा थिएन तर अहिले मैले नेपालको खेलको भिडियो हेरेको थिए र मलाई राम्रै लागेको छ,' उनले थपे, 'मलाई खुशी लागेको छ टिमको सबैजना फ्रेन्डली र हेल्पफुल छन् । आज पनि मैले एउटा खेल खेलेको थिए र सबैजना एक अर्कालाई सहयोग गर्ने खालका छन् । खेलको स्तर मलाई राम्रो लाग्यो ।'
विकासले च्यासलमा १० नम्बरको जर्सी लगाउने छन् ।
नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।