काठमाडौं । यो तथ्य आधिकारिक भइसकेको छ, न्युकासल युनाइटेड नयाँ व्यवस्थापकको खोजीमा छन् ।
साउदी अरेबियाली लगानी निश्चित भएको १३ दिनपछि नै यसअघिका व्यवस्थापक स्टिभ ब्रुस बर्खास्तीमा परे । क्लब इंग्लिस प्रिमियर लिगको १९ औं स्थानमा रहेको छ र उनको बर्खास्ती स्वभाविक पनि रहेको छ ।
अहिले तत्काल न्युकासलका मुख्य लय रेलिगेसन क्षेत्र छाड्ने नै हुनेछ । यस्तोमा प्रश्न त्यही हो, नयाँ व्यवस्थापक को हुनेछन् र यसलाई लिएर विभिन्न अडकालबाजी पनि सुरु भएको छ ।
अहिलेको नयाँ लगानीकर्ता न्युकासलले धेरै भन्दा धेरै उपाधि जितोस भन्न चाहन्छ । त्यसका लागि धेरै भन्दा धेरै लगानी गर्न पनि तयार छ ।
अबका केही खेलमा क्रिस वाडलले निमित्त व्यवस्थापकको भूमिका खेल्नेछन् । बेलायती मिडियाले त अहिले नै सम्भावित प्रशिक्षकको सूची नै तयार पारिसकेका छन् र त्यसको सबैभन्दा शीर्ष स्थानमा छन्, जिनेदिन जिदान ।
रियल मड्रिड छाडेयता उनी खालि जस्तै छन् । जिदानका लागि पनि इंग्लिस फुटबल नयाँ चुनौती हुन सक्छ ।
त्यसपछि यस सूचीमा राफेल बेनिटेज, एन्टोनियो कोन्टे, स्टेफन जेरार्ड, फ्रायन्क लाम्पार्ड, रोबर्टो मानचिनी र रोबर्टो मार्टिनेजसम्म छन् ।
साउदी लगानीकर्ताका लागि नयाँ व्यवस्थापकको खोजी सजिलो पनि हुने छैन् । फेरि यी नयाँ व्यवस्थापकका लागि क्लबलाई माथि उकास्ने काम पनि उत्तिकै गाह्रो छ ।