काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले बुधबार राति शानदार जित आत्मसाथ गर्यो । तर क्लबलाई सोही जित निकै महङ्गो पर्यो ।
उसका मुख्य खेलाडी रोमेलु लुकाकु र टिमो वार्नरले गए रातिको खेलमा चोट बोके ।
प्रिमियर लिगको लिडर क्लब चेल्सीलाई दुई मुख्य फरवार्डको चोट पक्कैपनि महङ्गो पर्नेछ ।
लण्डन क्लबले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा समूह एचको खेलमा स्विडेनको माल्मोलाई ४–० गोल अन्तरले हरायो ।
चेल्सीमा जितमा जोर्गिन्होले दुई गोल गरे । ती दुवै गोल पेनाल्टीमा सम्भव भएको थियो ।
खेलमा अग्रता चेल्सीले नवौं मिनेटमा एन्ड्रियास क्रिस्टिेन्सेनको गोलबाट लिएको थियो । थियागो सिल्भाले उपलब्ध गराएको पासमा क्रिस्टिेन्सेनले गोल गरेका थिए ।
जोर्गिन्होले २१ औं मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका थिए । काइ हभार्टजले ४८ औं मिनेटमा चेल्सीका लागि तेस्रो गोल गरे । हडसन ओडोइले उपलब्ध गराएको पासमा हभार्टजले गोल गरेका थिए ।
जोर्गिन्होले ५७ औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरे ।
समूहमा चेल्सीले ३ खेलबाट ६ अंक जोड्यो र दोस्रो स्थानमा उक्लियो । युभेन्ट्स ९ अंक सहित शीर्ष स्थानमा छ । माल्मो अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।