काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले बंगलादेशविरुद्ध सकारात्मक सोचसहित मैदान उत्रने बताएका छन् ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले भोलि बुधबार बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
बंगलादेशविरुद्धको खेल अघि आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै गोलकिपर विशालले सकारात्मक सोचसहित मैदान उत्रदै इतिहास रच्ने बताएका हुन् ।
'हामी यो खेलका लागि लामो समयबाट तयारी गरिरहेका थियौं । इतिहास बनाउन हाम्रो लागि यो दबाब भन्दा पनि मौका र अवसर हो,' विशालले भने, 'सबै जना सकारात्मक सोचका साथ अगाडी बढी रहेका छौँ । हामीले देशका लागि अहिले नगरे कहिले गर्न भन्ने सोच छ । हामीले भोलि मैदानमा त्यहि अनुसार प्रस्तुत हुने छौँ ।'
मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन ।
तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ । साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो ।
राउण्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । यस्तोमा नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता रहेको छ ।
नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १-० ले हराएको नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो । तर, नेपाल आइतबार भारतसँग १-० ले पराजित भएको थियो ।
बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन । बंगलादेश पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यस समूहमा माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । नेपालसँग पराजित माल्दिभ्स हेड टु हेडमा पछि रहेको हो । भारत ३ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बुधबार नै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । फाइनलका लागि माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको बिकल्प छैन ।