काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल भोलि (आइतबार) हुदैछ ।
दशरथ रंगशालामा हुने खेल अपरान्ह साढे ५ बजे सुरु हुनेछ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेका दुवै टिमले काठमाडौंमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने तय गरेका थिए ।
पहिलो मैत्रीपूर्ण फुटबल बिहीबार भएको थियो । दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए ।
अन्जन विष्टको अग्रता जोगाउन नसक्दा नेपालले बराबरी खेलेको थियो । भारतका लागि अनिरुद्ध थापा बराबरी गोल गरेका थिए ।
नेपाललाई प्यालेस्टाइन, कीर्गिस्तान लगायतका देशले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेका थिए । तर नेपालले भारतको प्रस्ताव स्विकार गर्दै काठमाडौं बोलाएको हो ।
अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि नेपाली टिम तयारीमा छ । प्रतियोगितामा नेपालले भारतलाई मुख्य चुनौतीको रुपमा हेरेको छ । सोही कारण भारतसंग खेल्दै कमजोरी सुधार गर्ने नेपालको लक्ष्य छ ।
आईतबार हुने दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका कप्तान किरण चेम्जोङले राष्ट्रिय टिमबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गर्नेछन् ।
बिहिबार नेपालको कप्तानी गर्दै किरणले विराज महर्जनको सर्वाधिक खेलको कीर्तिमानी बराबरी गरेका थिए ।