काठमाडौं। क्रिस्टियानो रोनाल्डोले एडिसन कभानीलाई एउटा सन्देश छाडेका छन् र यो हो, ‘धेरै धेरै धन्यवाद, म्यानचेस्टर युनाइटेडमा फर्केयता ७ नम्बरको जर्सी फिर्ता दिएकोमा ।’
उरुग्वेली खेलाडीले म्यानचेस्टर आएयता त्यही नम्बरको जर्सी लगाएका थिए । तर रोनाल्डो आएपछि यो नम्बरको जर्सीलाई लिएर अन्यौलता छाएको थियो ।
अन्यौलता मात्र होइन्, प्रतिष्ठाको लडाई समेत चल्न सक्थ्यो ।
सबैलाई थाहा छ, यी पोर्चुगाली खेलाडीलाई ७ नम्बर जर्सी प्यारो छ र एक प्रकारले यो नम्बर उनको परिचयसँग जोडिएको छ । यसअघि रोनाल्डोले छ सिजन म्यानचेस्टरमा बिताउँदा यही नम्बरको जर्सी लगाएका थिए ।
पोर्चुगलका लागि खेल्दा पनि उनले खालि ७ नम्बर जर्सी नै लगाए ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टरले उल्भ्सलाई पराजित गर्दा पनि कभानीले ७ नम्बरकै जर्सी लगाएका थिए ।
तर यी उरुग्वेली खेलाडी यो नम्बरको जर्सी रोनाल्डोलाई दिन कसरी तयार भए त ? यसको उत्तर हो, रोनाल्डोलाई जसरी ७ नम्बर जर्सी प्यारो छ, कभानीलाई उस्तै २१ नम्बर जर्सी मन पर्छ ।
उरुग्वेली टिमका लागि खेल्दा उनले लगाउने जर्सी यही २१ नम्बर त हो ।
संयोग कस्तो भने म्यानचेस्टरमा पछिल्लो समय २१ नम्बर जर्सी खालि पनि थियो ।
अब के चाहियो र ? क्लबले उनलाई २१ नम्बर जर्सी दियो, अनि रोनाल्डोले पाए, आफ्नो प्रिय ७ नम्बर जर्सी ।
यसलाई अब मीठो संयोग नभने के भन्ने त ? अब एउटा प्रश्न के पनि छ भने रोनाल्डोलाई यो ७ नम्बर जर्सीप्रति यत्रो लगाव किन त ?
म्यानचेस्टर आउन अगाडि स्पोर्टिङ लिस्वनमा छँदा उनी २८ नम्बरको जर्सी लगाउने गर्थे ।
म्यानचेस्टर आएयता उनी यही नम्बरको जर्सी लगाउन चाहन्थे । तर त्यति बेलाका म्यानचेस्टर व्यवस्थापक एलेक्स फर्गुसनले उनलाई ७ नम्बर जर्सी लगाउन मनाए ।
उनी चाहन्थे, यी रोनाल्डो म्यानचेस्टरमा यसअघिका ७ नम्बर जर्सी लगाउने खेलाडी जर्ज बेस्ट र एरिक क्यान्टोना जत्तिकै सफल र प्रसिद्ध होस ।
त्यसपछि के भयो, सबै गर्विलो इतिहास भइसकेको छ ।
–मार्काको सहयोगमा ।