अलमुताइरीले डेब्युको अवसर दिएका छैटौं खेलाडी

काठमाडौं। भारतविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल अगाडि आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भनेका थिए, अबका दुई खेलमा पक्कै पनि केही आश्चर्य हुनेछन्, खेलाडीको छनोटलाई लिएर ।
यसको अर्थ थियो, उनले केही नयाँ अनुहारलाई मौका दिन सक्छन् । यस्ता आश्चर्य हुने अनुमान फ्याक्दा फुटबलमा रौनकता हुन्छ ।
धेरैको अनुमान थियो, सायद गोलरक्षक विशाल श्रेष्ठले मौका पाउने सक्ने छन् ।
विशाल त्यस्ता अभाग्यशाली खेलाडी हुन्, जसले लामो समयदेखि नेपाली राष्ट्रिय टिमको आवद्धता त पाएका छन्, तर डेब्युको अवसर अहिलेसम्म पाएका छन् ।
सम्भवत: विशाल निराश रहेको हुनु पर्छ, किनभने उनले भारतविरुद्धको खेलमा फेरि मौका पाएनन् । तर नितिन थापाको प्रसंगमा यस्तै भावना फरक हुन्छ ।
उनी असाध्यै खुसी हुनु पर्छ, किनभने उनले भारतविरुद्धको त्यसै खेलबाट डेब्यु गरे । सब्टिच्युट खेलाडीका रूपमा उनले मैदान प्रवेश गरेका थिए, ८६ औं मिनेटमा ।
उनले तेज तामाङलाई रिप्लेस गरेका हुन् ।
अब नितिनले ढुक्क भएर दाबी गर्न सक्नेछन्, नेपालका लागि खेलेको भनेर । प्रशिक्षक अलमुताइरीले नेपाली टिम सम्हालेयता डेब्युको अवसर दिएका उनी छैटौं खेलाडी हुन् ।
यसअघि उनले गौत्तम श्रेष्ठ, मनीष डांगी, कमल थापा, सुरज ठकुरी र आयुष घलानलाई पनि पहिलो ‘क्याप’ को मौका दिएका थिए ।
वर्ष २०२१ कै मात्र कुरा गर्ने हो भने पनि नौ खेलाडीले नेपालका लागि पहिलो पल्ट खेल्ने अवसर पाइसके ।
यसमध्ये तीन खेलाडी यसअघिका प्रशिक्षक बालगोपाल महर्जनले डेब्यु गर्न दिएका हुन् ।