काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली समर्थकसँग माफी मागेका छन् ।
भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरीमा रोकिएपछि प्रशिक्षक अलमुताइरीले माफी मागेका हुन् ।
अलमुताइरीले खेलबाट नेपालीलाई खुशी बनाउन नसकेको भन्दै माफी मागेका हुन् ।
'क्षमा चाहन्छु । नेपाली जनतासँग । हामीले खुशी बनाउन सकेनौं । मलाई आशा छ । क्षमा स्विकार्नु हुनेछ,' उनले भने ।
यस्तै प्रशिक्षक अलमुताइरीले खेलमा अझै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताए ।
'हामीले अझै धेरै सुधार गर्नु पर्नेछ । तर, खेलाडीप्रति मलाई गर्व छ,' अलमुताइरीले थपे ।
खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले टिमले दोस्रो हाफमा उत्कृष्ट खेलेको बताए ।
'खेल राम्रो भयो । रोमान्चक रह्यो । दोस्रो हाफमा खेल राम्रो भयो । दोस्रो हाफको खेलबाट खुशी छु । पहिलो हाफको खेलमा खुशी छैन,' उनले भने ।
अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलिरहेको हो।
साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ।