काठमाडौं । घरेलु टिम नेपालले पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा खेलेको छ ।
बिहीबार भएको खेलमा नेपालले भारतसँग १-१ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो ।
घरेलु दर्शकसामु खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।
भारतका चिन्गेलसना सिंह कोनसामको ब्याक पासको बल खोस्दै अन्जनले गोल गरेका हुन् ।

तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।
भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङ बचाएका थिए। त्यहि रिबाउन्ड बलमा थापाले गोललाइनबाट पोस्टको जाली चुमाएका थिए ।
अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलिरहेको हो।
साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ।
नितिनको डेब्यु
भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट मिडफिल्डर नितिन थापाले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।
खेलको ८५ औं मिनेटमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै नितिनले डेब्यु गरेका हुन्।
एन्फा एकेडेमीका खेलाडी नितिनले च्यासल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलिसकेका छन् ।
उनले नेपाल सुपर लिग फुटबल पोखराबाट खेलेका थिए ।
