काठमाडौं । श्रीलंकाका पूर्व ओपनर ब्याट्सम्यान उपुल थरंगाले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
थरंगाले भैरहवा ग्ल्याडियटर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।
भैरहवाले बिहीबार थरंगाले टिमबाट ईपीएल खेल्ने जनाएको छ ।
थरंगाले हालै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।
३६ वर्षीय थरंगाले श्रीलंकाको लागि ३१ टेष्ट, २ सय ३५ एकदिवसीय र २६ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।
उनले श्रीलंकाका लागि कुल २ सय ९२ खेलमा ९ हजार १ सय १२ रन बनाउँदा १८ शतक बनाएका थिए ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।