काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले नेपालका लागि सर्वाधिक खेल खेलेको कीर्तिमान बिहीबार बराबरी गरेका छन् ।
भारतविरुद्धको पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलसँगै उनले यो उपलब्धी हात पारेका हुन् । किरणको यो नेपालका लागि ७३ औं खेल हो । विराज महर्जनले पनि नेपालका लागि ७३ खेल खेलेका छन् ।
उनले यो उपलब्धी थ्री नेसन्सकप फाइनलका क्रममा प्राप्त गरेका थिए । विराजले सन्यास लिइसकेका छन् । अब किरणसामु दोस्रो मैत्रीपूर्ण खेलमा विराजलाई उछिन्ने अवसर पनि हुनेछ । सन् २००८ मे २४ मा किरणले नेपालका लागि डेब्यु गरेका थिए । एएफसी च्यालेञ्जकप छनोटको मकाओविरुद्ध कम्बोडियाविरुद्धको खेलमा उनी पहिलो पल्ट नेपालका लागि उत्रेका थिए ।
उनलाई जर्मन प्रशिक्षक थोमस फ्लाथले डेब्युको अवसर दिएका हुन् । किरण र विराजपछि रोहित चन्द र पूर्व कप्तान राजुकाजी शाक्य नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । रोहितले नेपालका लागि ६९ पल्ट खेलिसकेका छन् । शाक्यले ६८ क्याप जितेका छन् । राष्ट्रिय टिमका सदस्य रहेका रोहित भने व्यवसायिक फुटबल खेल्ने क्रममा इन्डोनेसियामा छन् ।