काठमाडौं । सायद भारतका लागि दशरथ रंगशाला भाग्यमानी छ । भारतले आफ्नो फुटबल इतिहासमै अहिलेसम्म जहाँ जति खेलेको छ, त्यसमध्ये दशरथ रंगशाला उसका लागि सफल मैदानमध्ये एक रहेको छ ।
त्यसैले त भन्न सकिन्छ, भारतका लागि दशरथ रंगशाला ‘ह्याप्पी ग्राउन्ड’ हो । भारतले दशरथ रंगशालामा अहिलेसम्म १४ खेल खेलेको छ ।
त्यसमा भारत नौ खेलमा विजयी रहेको छ भने दुई खेलमा बराबरी । अनि तीन खेलमा हार । यसबीच भारतले दुई फाइनल र एक सेमिफाइनल खेलेको छ । अनि भारतले यी खेलमा २८ गोल गरेको छ भने ११ गोल खाएको छ ।
भारतले दशरथ रंगशालामा खेलेको पहिलो ठूलो प्रतियोगिता भनेको सन् १९९७ को साफ च्याम्पियनसिप हो । त्यसमा भारतले लगातार चार खेल मात्र जितेन्, उपाधि पनि जित्यो । त्यसमा भारत माल्दिभ्समाथि ५–१ ले विजयी रहेको थियो ।
त्यसको दुई वर्षपछि नै भारत सन् १९९९ मा आठौं दक्षिण एसियाली खेलकुदमा खेल्न दशरथ रंगशालामा उत्रेको थियो । लिग चरणका तीनै खेल सजिलै जितेको भारत सेमिफाइनलमा बंगलादेशको हातबाट रोकिएको थियो, १–० ले ।
सन् २०१३ को साफ च्याम्पियनसिपमा पनि भारत फाइनल पुगेको थियो । तर उपाधि भिडन्तमा भारत अफगानिस्तानको हातबाट २–० ले पराजित भयो । त्यसपछि सन् २०१५ मा भारतले अन्तिम पटक नेपालविरुद्ध विश्वकप छनोटको दोस्रो लेगका खेलेको थियो । यो सबै पृष्ठभूमिमा एउटा उल्लेखनीय पक्ष पनि छ ।
त्यो के हो भने भारतले दशरथ रंगशालामा खेलेका पछिल्ला दुई खेलमा जित निकाल्न सकेको छैन् । त्यति मात्र होइन्, उसले यी दुवै खेलमा गोल गर्न समेत सकेको छैन् । अनि त्यसमा एक हार छ, एक बराबरी । हार अफगानिस्तानविरुद्ध रह्यो, बराबरी नेपालविरुद्ध ।
ठ्याक्कै भन्दा भारतले दशरथ रंगशालामा खेलेका पछिल्लो १ सय ८४ मिनेटमा कुनै गोल गर्न सकेको छैन् ।