काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले भारतविरुद्धको खेलका लागि नेपाली टोलीलाई शुभकामना दिएका छन् ।
व्यवसायिक फुटबलका लागि इन्डोनेसियामा रहेका रोहितले सामाजिक संजालबाट शुभकामना दिएका हुन् ।
रोहितले कोभिड-१९ को कारण आफु मैत्रीपूर्ण खेलका लागि उपलब्ध नभएको जनाउदै आफु जकार्तामा भएपनि मन मष्तिस्क दशरथ रंगशालामा रहेको समेत बताएका छन् ।
'भारतविरुद्ध आज हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमलाई अग्रिम शुभकामना। भारतविरुद्धको खेलका लागि चाहेर पनि उपस्थित हुन नसकेकोमा एकदमै दु:खित छु। भौतिकरूपमा जाकार्तामा रहे पनि मेरो मन-मष्तिस्क दशरथ रंगशालामा नै हुनेछ,' उनले फेसबुकमा लेखेका छन् ।
नेपालले आज बिहीबार भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल र भारतबीचको खेल अपरान्ह ५:३० बजे सुरु हुनेछ। नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
रोहित पर्सिजा जकार्ताबाट इन्डोनेसियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन् ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर रोहित इन्डोनेसिया प्रस्थान गरेका थिए ।