काठमाडौं । नेपाल र भारत आज बिहीबार दशरथ रंगशालामा भिड्दै छन्, दुई खेल शृंखलाको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ।
नेपाली फुटबलको मूल घरमा यी दुई छिमेकी देश भिड्न लागेको यो चौथो अवसर मात्र हो । सन् १९९९ मा नेपालले पहिलो पल्ट यस मैदानमा भारतको सामना गरेको थियो र त्यसमा नमज्जासँग ४–१ ले पराजित रह्यो ।
त्यसपछि दोस्रो भेट सन् २०१३ मा भएको थियो र अवसर थियो, साफ च्याम्पियनसिप । त्यसमा भने नेपाल २–१ ले विजयी रह्यो । सन् २०१५ मा नेपालले विश्वकप छनोटको दोस्रो लेगमा भारतको सामना गरेको थियो र त्यो खेल भने गोलरहित बराबरीमा रह्यो । यस्तोमा दशरथ रंगशालामा नेपाल र भारतबीचको खेलको स्थिति १–१ खेलको बराबरी स्थितिमा छ ।
खालि दशरथ रंगशालाकै मात्र चर्चा गर्दा नेपालका लागि यो केही हदसम्म सन्तोष मान्न मिल्ने प्रदर्शन रहेको छ । भारत छ वर्षको अन्तरमा पहिलो पल्ट दशरथ रंगशालामा ओर्लिदैछ । भारतले खेलेको अन्तिम खेल भने त्यही विश्वकप छनोटको दोस्रो लेगको प्रतिस्पर्धा हो । नेपालले भने सन् २०२१ मै बंगलादेशविरुद्ध थ्री नेसन्सकपको फाइनल खेलेको थियो, दशरथ रंगशालामा ।
सन् २०१३ को साफ च्याम्पियनसिपयता भने समग्रमा भारतविरुद्ध नेपालको प्रदर्शन निराशाजनक छ । पछिल्ला छ खेलमा नेपालले भारतविरुद्ध जित निकाल्न सकेको छैन् । त्यसमाथि यी छ खेलमा पनि नेपालले खालि एकै मात्र गोल मात्र गरेको छ । विमल घर्तिमगरले सन् २०१५ को साफ च्याम्पियनसिपमा त्रिवेन्द्रममा गरेको गोल यता नेपालले भारतविरुद्ध १ सय ७७ मिनेटको खेलमा कुनै गोल गर्न सकेको छैन् ।