काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको दुबै खेल कठिन हुने बताएका छन्।
बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले बलियो टिम भारतविरुद्धको खेल कठिन हुने बताएका हुन् ।
'भारतसँग खेल कठिन हुनेछ । किनकि भारतसँगको खेल मैले जति खेले कहिले जितेको छैन । घरेलु मैदानमा खेल्न गईरहेका छौँ तर पक्कै पनि भोलिको खेल कठिन हुनेछ,' किरणले भने ।
कप्तान किरणले भारतसँगको खेल नेपालको लागि कमीकमजोरी पत्ता लगाउने अवसर भएको समेत बताए ।
'तयारी राम्रो छ । लय राम्रो छ । घरेलु मैदानमा खेल्न पाउँनु राम्रो हो । यो अवसर हो । यस खेलले टिमलाई सहयोग गर्छ,' किरणले भने, 'बलियो र कमजोर पक्ष पत्ता लगाउन सहयोग हुन्छ ।'
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भरतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल भोलि बिहीबार र दोस्रो खेल आइतबार हुनेछ ।
यस्तै कप्तान किरणले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमनले टिम मानसिक रुपमा बलियो भएको बताए ।
'अलमुताइरीसँग अभ्यास गरेको ६-७ महिना भयो । टिम बलियो भएको छ । अलमुताइरीले मानसिक रुपमा बलियो बनाएका छन् । पहिले शारीरिक रुपमा बलियो थियौं । अहिले दुबैमा बलियो छौँ,' उनले भने ।
भारतका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको खेल सधै कठिन हुने बताए । तर, आफुहरुले सक्दो राम्रो गर्ने बताए ।
'हाम्रो लागि खेल सधै कठिन हुन्छ । हामी उत्कृष्ट दिने छौँ । हामीलाई निमन्त्रणा गर्नु भएकोमा धेरै धन्यवाद,' उनले भने ।