एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । बुधबार राति समूह चरणको दोस्रो खेलमा बार्सिलोनाले इन्ग्लिश क्लब टोटेनहमलाई ४ -२ ले पराजित गर्यो ।
कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले टोटेनहमलाई उसैको मैदानमा हराएको हो । यस्तै बार्सिलोनाका लागि फिलिपे कौटिन्हो र इभान राकीटिचले एक एक गोल थपे । टोटेनहमका ह्यारी केन र एरिक लामेलाले एक एक गोल फर्काए ।
वेम्बली स्टेडियममा बार्सिलोनाले खेलको दोस्रो मिनेटमै कौटिन्होको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । २८ औं मिनेटमा राकीटिचले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २ - ० को अग्रता दिलाए ।
दोस्रो हाफमा टोटेनहम खेलमा फर्कने प्रयास गर्यो । ५२ औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल २ - १ मा ल्याए । तर,खेलको ५६ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल ३ - १ को बनाए । ६६ औं मिनेटमा टोटेनहमका लामेलाले गोल गर्दा खेल २ - ३ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको ९० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४ - २ को जित दिलाए । मेस्सीले च्याम्पियन्स लिगमा लगातार दोस्रो खेलमा गोल गरेका हुन् । मेस्सीले पहिलो खेलमा पिएसभीमाथी ह्याट्रिक गरेका थिए । मेस्सीले दुई खेलमा पाँच गोल गरिसकेका छन् ।
जितसंगै समूह 'बि' को बार्सिलोनाले २ खेलबाट ६ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा छ । लगातार दुई खेलमा हार बेहोरेको टोटनहम अंकबिहिन रहेका छन् ।
यस समूहमा इटालियन क्लब इन्टर मिलान दोस्रो स्थानमा छ । बुधबार राति पिएसभी आइनहोभनलाई २ - १ ले हराएको इन्टरको पनि ६ अंक छ । पिएसभी अंकबिहिन रहदै पुछारमा छ ।