काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको बिदाई गरेको छ ।
बुधबार एन्फा हेडक्वार्टरमा अध्यक्ष कर्माछिरिङ शेर्पाले उपचारका लागि कतार जान लागेकी फरवार्ड भण्डारीलाई बिदाई गरे ।
भण्डारी उपचारका लागि आगामी शनिबार कतार प्रस्थान गर्दैछिन् ।
बिदाई कार्यक्रममा एन्फा उपाध्यक्षद्धय शिक्षित पराजुली, उपेन्द्रमान सिंह, केन्द्रिय सदस्य मधुशुदन उपाध्याय तथा महिला फुटबल विभाग प्रमुख हरी खड्का, युवा विभाग प्रमुख नविन महर्जन र अन्तराष्ट्रिय विभाग हेरिरहेका आयुश खड्का उपस्थित थिए ।

राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड भण्डारीले यस वर्षको सुरुवातमा भएको महिला लिगमा चोट बोकेकी थिईन् ।
विभागीय टिम एपीएफबाट खेल्ने क्रममा सावित्राको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको थियो । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका थिए ।
सोही अनुसार एन्फाले कतार फुटबल संघको सहयोगमा दोहास्थित अस्पेटार अस्पतालमा उपचारको प्रबन्ध मिलाएको हो ।
खुट्टामा गम्भिर चोट लागेपछि सावित्राले विदेशमै उपचार गर्ने भन्दै एन्फासंग आग्रह गर्दै आएकी थिईन् ।
एन्फाकै पहलमा राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामा कतारमा उपचार गराएर नेपाल फर्किएका छन् भने अर्का फरवार्ड बिमल घर्तिमगर उपचाररत छन् ।