जिम्बाब्वेको सानदार सुरुआत

काठमाडौं। जिम्बाब्वेले आईसीसी टी–२० विश्वकपमा सानदार सुरुआत गरेको छ।
कोलम्बोस्थित सिंहलीज स्पोर्ट्स क्लब मैदानमा ओमानलाई ८ विकेटले पराजित गर्दै जिम्बाब्वेले सहज जित दर्ता गर्यो।
१०४ रनको लक्ष्य जिम्बाब्वेले १३.३ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। ओमानका सुफ्यान मेहमूदले एकै ओभरमा ताडिवानाशे मारुमानी र डियोन मायर्सलाई आउट गर्दै केही क्षण दबाब सिर्जना गरे पनि त्यसपछि कुनै सफलता पाउन सकेनन्।
ओपनर ब्रायन बेनेटले ३६ बलमा ७ चौकासहित अविजित ४८ रनको आकर्षक इनिङ्स खेलेर जितमा महत्त्वपूर्ण भूमिका खेले।
जिम्बाब्वेका लागि एकमात्र चिन्ताको विषय ब्रेन्डन टेलरको चोट रह्यो। ३१ रन बनाइसकेपछि ह्यामस्ट्रिङ चोटका कारण उनी रिटायर्ड हर्ट भए। अन्ततः कप्तान सिकन्दर रजाले विजयी रन प्रहार गरे।
त्यसअघि जिम्बाब्वेको तीव्र र उछालयुक्त बलिङ आक्रमणसामु ओमान टिक्न नसक्दा १०३ रनमै अलआउट भयो।
ब्लेसिङ मुजाराबानीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट १६ रनमा लिएर ओमानको शीर्षक्रम ध्वस्त पारे। २७ रनमै ५ विकेट गुमाएपछि ओमान विश्वकप इतिहासकै न्यूनतम स्कोरनजिक पुग्ने खतरा देखिएको थियो। यसअघि ओमानको सबैभन्दा कम स्कोर २०२४ मा इङ्ल्यान्डविरुद्ध ४७ रन थियो।
तर, सुफ्यान मेहमूद र विनायक शुक्लाबीच भएको ४४ रनको साझेदारीले ओमानको स्कोरले केही सम्मानजनक रूप लियो। शुक्लाले २१ बलमा २८ रन बनाए भने मेहमूदले ३९ बलमा २५ रन जोडे। नदिम खानले १८ बलमा २० रन बनाउँदै इनिङ्सको एकमात्र छक्का प्रहार गरे।
जिम्बाब्वेका रिचार्ड नगाराभा र ब्राड इभान्सले पनि उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए।






-1770628505169.jpg&w=3840&q=75)




