काठमाडौं । ललितपुर सिटी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले निर्णायक गोल गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले थुप्रै गोलको अवसर सिर्जना गरेको थियो । तर, ललितपुरले एक मौकालाई सदुपयोग गर्यो ।
खेलको तेस्रो मिनेटमा बुटवलका लक्ष्मण रुचालको कर्नरमा अभिषेक रिजालको हेडर पोस्टको माथिबाट बाहिरिएको थियो ।
खेलको १२ औं मिनेटमा १५ यार्डबाट ललितपुरका डोना थापाको प्रहारले पोस्टको दिशा लिन सकेन् ।
१९ औं मिनेटमा पेनाल्टी क्षेत्र भित्र अनमार्क रहेका बुटवलका विलियम्सको प्रहार बाहिरिएको थियो ।

खेलको २५ औं मिनेटमा ललितपुरका डोनाको पासमा नुर्लान जाहिदले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।
३१ औं मिनेटमा ललितपुरका ओमोलाजा करिमको फ्रिकिकमा आशिष लामाको हेडर ललितपुरका गोलकिपर अर्पण कार्कीले मुश्किलले बचाए । लगत्तै कर्नरमा आएको बलमा विलियमको प्रहार अर्पणले सहजै आफ्नो पन्जामा पारेका थिए ।
३३ औं मिनेटमा ललितपुरका अन्जन विष्टले डिबक्स बाहिरबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।
खेलको ४० औं मिनेटमा बुटवलका विलियमले वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार ललितपुरका गोलकिपर अर्पणले उत्कृष्ट बचाउ गरे । त्यहिँ रिबाउन्डमा आएको बलमा आशिष लामाको प्रहार आकाशिएको थियो ।
खेलको ५६ औं मिनेटमा अनमार्क रहेका ललितपुरका नुर्लानको प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो ।
तर, खेलको ६१ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै ललितपुरलाई १-० को अग्रता दिलाए । मिक्छेन तामाङको क्रसमा अन्जनले डाइभ हान्दै उत्कृष्ट हेडर गोल गरे । ललितपुरको जितमा त्यहिँ गोल निर्णायक बन्यो ।
६५ औं मिनेटमा डिबक्सको ठिक बाहिरबाट बुटवलका आशिष लामाले प्रहार गरेको सशक्त बल ललितपुरका गोलकिपर अर्पणले डाइभ हान्दै बचाए ।

खेलको ७९ औं मिनेटमा करिमको प्रहार पोलमा लाग्दै फर्किदा बुटवल बराबरी गर्न चुकेको थियो । सोही बलमा सुमन लामाको प्रहार पोस्ट नजिकैबाट गएको थियो।
८५ औं मिनेटमा डेन्जर जोनमा पाएको फ्रिकिकमा ललितपुरका कमल श्रेष्ठको प्रहार क्रसबारको केही माथिबाट बाहिरियो ।
८७ औं मिनेटमा ललितपुरका नुर्लानको पासमा भिलिमको प्रहार बुटवलका डिफेन्डरमा लाग्दै फर्किएको बलमा गोलकिपर विशाल अगाडी बढेको अवस्थामा अन्जनको प्रहारले पोस्टको दिशा लिन सकेन ।
इन्जुरि समयमा नुर्लानको पासमा भिलिमको बाईसाइकल प्रहार बाहिरिएको थियो ।
यस्तै इन्जुरी समयको अन्तिम मिनेटमा विलियमको पासमा करिमको फितलो प्रहार ललितपुरका गोलकिपर अर्पणले सहजै बचाए ।

खेलमा ललितपुरका गोलकिपर अर्पण कार्की प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।
इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरकै मिक्छेन तामाङ सौजन राई चुनिए । उनले १० हजार प्राप्त गरे ।
अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग खेल्नेछ ।
पहिलो इलिमिनेटरमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फर्म्याट अनुसार काठमाडौंले दोस्रो क्वालिफाय खेल्ने मौका पाएको हो । बुटवल भने प्रतियोगिताबाट बाहिरिएको छ ।
ललितपुर र काठमाडौंबीचको खेल भोलि (बिहीबार) हुनेछ । यस खेलको विजेताले फाइनलमा धनगढी एफसीसँग खेल्नेछ ।
