एजेन्सी । चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।
सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाईनल प्रवेश गरेको हो ।
प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजा सहित फाईनल प्रवेश गर्यो ।
दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमाे वेर्नेर र मासन माउन्टले एक एक गोल गरे ।
काइ हभार्ट्जको प्रहार पोस्टमा लागेर फर्किदा वार्नरले २८ औं मिनेटमा हेडमार्फत चेल्सीलाई अग्रता दिलाएका थिए ।
खेल सकिन ५ मिनेट अघि माउन्टले चेल्सीका लागि दोस्रो गोल गरे । पुलिसिकले डिबक्स भित्र उपलब्ध गराएको चलाखीपूर्ण पासमा माउन्टले गोल गरेका हुन् ।

अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाईनल खेल्नेछ । उसले सन् २००८ मा म्यान्चेष्टर युनाईटेडसंग पेनाल्टी सुटआउटमा उपाधि भिडन्त गुमाएको थियो । त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो ।
फ्राङ्क लाम्पार्ड बर्खास्तमा परेपछि चेल्सी सम्हाल्न आईपुगेका थोमस टुचेल लगातार दाेस्राे वर्ष च्याम्पियन्स लिगकाे फाइनल पुगेका हुन् । टुचेलले पीएसजीबाट गत सिजन च्याम्पियन्स लिगको फाईनलमा टिमको नेतृत्व गरेका थिए । चेल्सीले मे १५ मा लेस्टर सिटीसंग एफ ए कपको फाईनल समेत खेल्दैछ ।
चेल्सीले च्याम्पियन्स लिगकाे उपाधिका लागि प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ । सिटीले मंगलबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै फाईनल यात्रा तय गरिसकेको छ ।