काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक रिजालले नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।
युवा स्टार फरवार्ड अभिषेकले बुटवल लुम्बिनीबाट एनएसएलको पहिलो सिजन खेल्ने भएका हुन् ।
उनी आईकोनिक खेलाडीको रुपमा रहेका थिए । तर कुनै टिमले उनलाई लिएनन् ।
बुटवल लुम्बिनीका बिदेशी खेलाडी अर्माण्ड घाईते भएपछि अभिषेकले बुटवल लुम्बिनीबाट एनएसएलका बाँकी खेल खेल्ने भएका हुन् । बुटवल लुम्बिनीले विशाल श्रेष्ठलाई आईकोनिक खेलाडीको रुपमा टिममा समावेश गरेको छ ।
पछिल्लो समय घरेलु लिग हुँदै माल्दिभ्स र भारतको आईलिगबाट अभिषेकले खेलेका थिए ।
यस्तै, बुटवल लुम्बिनीका अमिर श्रेष्ठको स्थानमा टिमले दिपेश आले मगरलाई अनुबन्धन गरेको छ ।
बुटवल लुम्बिनीले एनएसएलमा लिग चरणमा दुई खेल खेल्न बाँकी छ ।
औसत टिम मानिएको बुटवलले प्रतियोगितामा राम्रो छाप छाडेको छ । उसले नकआउट चरणमा स्थान बनाउने बलियो सम्भावना बनाएको छ ।
बुटवल लुम्बिनी ५ अंक सहित तालिकाको चौथो स्थानमा छ । बुटवलले लिगको पाँचौ खेलमा ललितपुर सिटी एफसी र अन्तिम खेलमा धनगढी एफसीसंग खेल्नेछ ।