एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।
रियल र चेल्सीबीचको खेल चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।
रियल र चेल्सीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै फाइनल पुग्ने योजनामा हुनेछन् । दुबैको फाइनल पुग्ने सम्भावना उत्तिकै रहेको छ ।
रियलको मैदानमा भएको पहिलो लेगमा दुई टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।
मड्रिडमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, करिम बेन्जिमाले गोल गर्दै रियललाई हारबाट जोगाएका थिए ।
दोस्रो लेगमा चेल्सीलाई घरेलु मैदानको केहि फाईदा हुनेछ । तर, च्याम्पियन्स लिगका सर्वाधिक सफल टिम रियलविरुद्ध चेल्सीलाई सहज भने हुने छैन ।
यस खेलको विजेताले फाइनलमा म्यानचेस्टर सिटीसँग खेल्नेछ । सिटी पीएसजीलाई हराएर फाइनल पुगिसकेको छ ।
चेल्सीविरुद्ध रियलका कप्तान सर्जियो रामोस खेल्ने सम्भावना रहेको छ । चोट मुक्त हुँदै रामोस टिममा फर्किसकेका छन् ।
मिडफिल्डर माटियो कोभासिच भने टिममा हुने छैनन् ।
रियलविरुद्ध चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरले खेल्ने सम्भावना कम रहेको छ ।