काठमाडौं । फ्रेन्चाईज टिम ललितपुर सिटी एफसीका मुख्य प्रशिक्षक प्रदिप हुमागाईले जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष चारमा पुग्नेमा आशावादी रहेको बताएका छन् ।
पहिलो संस्करणको एन एसएल अन्तर्गत बिहीबार धनगढी एफसीसँग १-१ गोलको बराबरीमा रोकिएपछि बोल्दै प्रशिक्षक हुमागाईले शीर्ष चारको आशा रहेको बताए ।
'टिमले राम्रै खेल खेलेको हो । गोल खासै भएन । टिम खेलमा एक अर्काबीच विश्वास छ,' उनले भने, 'हामी शीर्ष चार भित्र पुग्छौ भन्ने आशा छ । बाँकी खेलमा राम्रो गर्ने छौँ ।'
रोमान्चक बनेको खेलको ७२ औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै धनगढीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ७९ औं मिनेटमा रन्जन विष्टले गोल गर्दै ललितपुरलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसअघि खेलको ४४ औं मिनेटमा ललितपुरका नुर्लानको जाहिदले पेनाल्टीमा गोल गर्न सकेनन् । नुर्लानको प्रहार धनगढीका किपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे ।
प्रशिक्षक हुमागाईले पेनाल्टीमा गोल निस्कन नसक्दा टिमका खेलाडीमा मनोवैज्ञानिक असर परेको समेत बताए ।
'खेल राम्रै छ । हामी कहाँ चुकिरहेका छौँ मैले पनि थाहा पाउन सकेको छैन । मसँग शब्द नै छैन । आजको खेलमा पनि पेनाल्टी पाएका थियौ । त्यहाँ पनि चुक्यौं,' प्रशिक्षक हुमागाईले भने, 'त्यसको मनोवैज्ञानिक असर परेको छ । तीन अंक नपाउने ललितपुर सिटी मात्र भयो ।'
प्रशिक्षक हुमागाईले खेलाडीको मनोबल अझै उच्च रहेको बताए ।
'मलाई कुनै दबाब छैन । खेलाडी हतोत्साहित छैनन् । हामी अझै गर्न सक्छौ । कोच र खेलाडीले गर्नु पर्ने खेलमा गरिरहेका छौँ । स्कोरको मात्र कमी भइरहेको छ,' उनले भने ।
ललितपुरले ३ खेलमा २ अंक जोडेको छ । ललितपुर पुछारमा रहेको छ ।