काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो चरणको खेलहरु समाप्त भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार विराटनगर सिटी एफसी र पोखरा थण्डर्सबीचको प्रतिस्पर्धासँगै दोस्रो चरणको खेल सकिएको हो ।
प्रतियोगिताको पाँचौ दिन सात खेलको समाप्ति भएसँगै दोस्रो चरण सकिएको हो । तेस्रो चरणको खेलहरु बिहीबारबाट सुरु हुनेछ ।
दोस्रो चरणको खेल सकिदा बुटबल लुम्बिनी एफसीले तालिकामा पकड बनाएको छ । धनगढी एफसी र पोखरा थण्डर्सले प्रतियोगितामा पहिलो जित हात परेका छन् ।
दोस्रो चरणमा पोखरा र धनगढीले जित निकाल्दा एफसी चितवन, ललितपुर सिटी एफसी र बुटबल लुम्बिनीले बराबरी खेलेका छन् । विराटनगर सिटी र काठमाडौं रेजर्सले हार व्यहोरेका छन् ।
एफसी चितवनसँग २ गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै बराबरी खेलेपछि बुटबल ४ अंक सहित शीर्ष स्थानमा रहेको हो । बुटवलले पहिलो खेलमा पोखरा थण्डर्सलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
विराटनगर, धनगढी, पोखरा, काठमाडौं समान ३ अंकसहित क्रमश दोस्रोबाट पाचौं स्थानमा रहेका छन् ।
दुई खेल बराबरी खेलेको चितवन २ अंकसहित छैठौं स्थानमा रहँदा ललितपुर १ हार र १ बराबरसहित पुछारमा रहेको छ ।
पहिलो चरणमा बलियो देखिएको विराटनगर दोस्रो चरणमा भने फिक्का देखियो । आफ्नो पहिलो खेलमा बलियो मानिएको धनगढी एफसीलाई सानदार ३–० को जित निकालेको उसले दोस्रो खेलमा भने पोखरा थण्डर्ससँग १–० को हार व्यहोर्न बाध्य भयो ।
पहिलो खेलमा विराटनगरसँग ३–० गोल अन्तरले पराजित धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्सविरुद्ध सोहि नतिजा हासिल गर्याे । काठमाडौं विरुद्ध धनगढीका लागि विदशी खेलाडी आफिज ओलावालेले दुई तथा टंक बस्नेतले एक गोल गरेका थिए ।
दोस्रो चरणको समिकरणसँगै उपाधि होडमा सबै क्लबको उत्तिकै सम्भावना रहेको छ । अंक दुरी धेरै नभएको र सबै टोलीको प्रदर्शन एकैनाशको रहेकाले सबै टोलीको सम्भावना उत्तिकै छ ।
चितवन एफसीका प्रशिक्षक मेघराज केसी दुई अंक मात्रै भएपनि उपाधि होडमा आफुहरु अझै रहेको बताउँछन् ।
‘हामी अझैपनि उपाधि होडमै छौं । यो लिगमा शीर्ष १ र ४ बराबर हो । बाँकी खेलमा राम्रो गर्दै अगाडी बढ्छौं,’ केसीले भने ।
पोखराका सहायक प्रशिक्षक राजेश शाही समेत पहिलो जितले आफुहरु उपाधि होडमा रहेको बताउँछन् ।
‘यो जितले उपाधि होडमा हामीलाई फर्काएको छ । शीर्ष चारमा रहने गरि बाँकी खेल खेल्छौं,’ मुख्य प्रशिक्षक नविन न्यौपानेको अनुपस्थितीमा टोली हेरिरहेका शाहीले भने ।