काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा आज भारतको बेंगलुरु एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।
गोवास्थित जीएमसी स्टेडियममा आर्मीले घरेलु टिम बेंगलुरुको सामना गर्नेछ । आर्मी र बेंगलुरुबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
यस्तै आर्मी र बेंगलुरुबीचको खेल लाईभ हेर्न सकिने भएको छ ।
बेंगलुरुको युट्युब च्यानलबाट खेल लाईभ हेर्न सकिनेछ ।
पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराएको आर्मी बेंगलुरुलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।
तर, भारतीय टिमका कप्तान सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुलाई हराउँन आर्मीलाई सहज भने छैन ।
आर्मीले घरेलु मैदानमा भएको पहिलो खेलमा श्रीलंका पुलिसलाई ५-१ गोल अन्तरले पराजित गरेको थियो ।
बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।
यस प्ले अफको विजेताले समूह चरणको समूह 'डी' स्थान बनाउने छन् । समूह 'डी' मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।