काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा आज भारतको बेंगलुरु एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।
गोवास्थित जीएमसी स्टेडियममा आर्मीले घरेलु टिम बेंगलुरुको सामना गर्नेछ । आर्मी र बेंगलुरुबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
तर, भारतको बलियो टिम बेंगलुरुविरुद्धको खेल आर्मीका कप्तान तथा स्ट्राइकर भरत खवासले गुमाउने भएका छन् ।
कोरोना भाईरसको संक्रमण देखिएपछि भरतले बेंगलुरुविरुद्धको खेल गुमाउने भएका हुन् ।
बेंगलुरुविरुद्ध आर्मीले दुई खेलाडी परिवर्तन गर्नेछ ।
अघिल्लो खेलमा सुरुवातमा खेलेका भरतसँगै टंक बहादुर बस्नेतले पनि सुरुवाती-११ मा खेल्ने छैनन् ।
आर्मीले डिफेन्डर सुमन अर्याल र विमल पाण्डेलाई सुरुवाती-११ मा खेलाउने छन् ।
बेंगलुरुविरुद्ध आर्मीले डिफेन्सिभ खेल खेल्ने योजना बनाएको छ ।
पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराएको आर्मी बेंगलुरुलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।
तर, भारतीय टिमका कप्तान सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुलाई हराउँन आर्मीलाई सहज भने छैन ।
आर्मीले घरेलु मैदानमा भएको पहिलो खेलमा श्रीलंका पुलिसलाई ५-१ गोल अन्तरले पराजित गरेको थियो ।
बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।
यस प्ले अफको विजेताले समूह चरणको समूह 'डी' स्थान बनाउने छन् । समूह 'डी' मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।
एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो ।
सहिद स्मारक 'ए' डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।