एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पुनरागमन गर्दै जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको मैदानमा खेलको ४३ औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए ।
तर , खेलको ५७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयमा ट्रेण्ड एलेक्स्जेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई २-१ गोल अन्तरको जित दिलाए ।
जितसँगै लिभरपुलले ३१ खेलमा ५२ अंक जोडेको छ । लिभरपुल पाँचौं स्थानमा उक्लिएको छ ।

एस्टन ४४ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-१ गोल अन्तरले हराएको छ ।
चेल्सीको जितमा क्रिस्टियन पुलिसिचले दुई गोल गरे । काइ हार्भर्ट्ज र कुर्ट जौमाले एक एक गोल थपे ।
क्रिस्टलका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए ।

जितसँगै चेल्सीले ३१ खेलमा ५४ अंक जोडेको छ ।
चेल्सी लिगको चौंथो स्थानमा रहेको छ ।
क्रिस्टल ३८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
