काठमाडौं । तीन राष्ट्र, चार खेल, एक आत्मघाती गोल । गोलनै नगरेका दुई टोली उपाधिका लागि भिड्दै ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपको समग्र नतिजा यहिँ हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (सोमबार) हुने फाइनलमा आयोजक नेपाल र बंगलादेश भिड्दै छन् । फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
कर्मा छिरिङ शेर्पाको नेतृत्व आएपछि एन्फाले आयोजना गरेको यो पहिलो प्रतियोगिता समेत हो ।
यस कार्यसमितिले यस अघि चार देशबिचको प्रतियोगिता आयोजना गर्ने भनेर वार्षिक क्यालेन्डर सार्वजनिक गरेपनि अन्तिम समयमा आएर थ्री नेसन्स कप आयोजना गरेको हो ।
सुरुवाती चरणमा नेपाल भन्दा माथिल्ला स्तरका देशलाई एन्फाले पत्र पठाएपनि अन्तिममा प्रतियोगिताका लागि बंगलादेश, किर्गिस्तानको ओलम्पिक टोली नेपाल आउन तयार भए ।
प्रतियोगिताको फाइनल अघिसम्म चार खेल सकिएको छ । तर, प्रतियोगितामा कुनै पनि टोलीले गोल निकाल्न सकिरहेका छैनन् । जारी प्रतियोगितामा भएको एक गोल पनि आत्मघाती गोल हो ।
प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तानी डिफेन्डर कुमारबाज उलु बईमानले आफ्नै पोष्टमा गोल गरे । त्यहिँ गोलले किर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
फाइनल पुगेका दुई टोली नेपाल र बंगलादेशले भने गोल गर्न सकेका छैनन् । राम्रो खेल खेल्ने र फिनिसिङमा चुक्ने नेपालको परम्परानै भइसकेको छ । बंगलादेशको समेत यस पटक सोहि अवस्था देखिएको छ ।
फाइनल खेलमा भने दुबै टोलीले गोलमै नजर लगाएका छन् । फाइलनको पूर्व सन्ध्यामा भएको पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तान र प्रशिक्षकले गोलकै लागि संघर्ष गर्ने बताएका छन् ।
नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले उपाधिसँगै गोलमा आफुहरु केन्द्रित हुने बताए ।
‘यस अघिका खेलमा गोल हुन सकेका छैन । फाइनलमा यसैको प्रयास हुनेछ ।’ उनले भने ।
दुबै खेलमा सुरुवाती-११ मा कुनै परिवर्तन नगरेका प्रशिक्षक महर्जनले फाइनल खेलमा भने केहि परिवर्तन हुने संकेत गरेका छन् ।
बंगलादेशसँग दोस्रो हाफमा मैदान प्रवेश गरेका विशाल राई 'बी' र सुनिल बल फाइलनमा सुरुवाती-११ मा पर्ने सम्भावना छ । यस्तै अग्रपंक्तिमा अभिषेक रिजाल र अन्जन बिष्टको स्थानमा भरत खवासले स्थान बनाउन सक्छन् ।
नेपालले यस प्रतियोगितामा मात्रै गोल नगरेको भने हैन । विगत ८ खेलयता नेपालले गोल गर्न सकेको छैन ।
फिफा विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्ध अन्जन बिष्टले दुई गोल गरेपछि नेपाल गोल विहिन रहेको छ । त्यस यता नेपालले बंगलादेशसँग मात्रै ३ पटक खेलिसकेको छ ।
यस्तै कुवेत, जोर्डन, अष्ट्रेलिया, म्यानमार र किर्गिस्तानको यू–२३ सँग एक एक खेल खेलेको छ । किर्गिस्तानसँगको खेल बाहेक अन्य खेलहरु फिफा मान्यता प्राप्त खेल हुन् ।
यो पनि ....
७ खेलमा गोलविहीन नेपाल !
'गोल गर्दै उपाधि जित्छौं'